राप्तीमा महिला बेचबिखन र हिंसा विरुद्ध सामूहिक प्रतिवद्धता

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo. Aliquam non leo id magna vulputate dapibus. Curabitur a porta metus. In viverra ipsum nec vehicula pharetra. Proin egestas nulla velit, id faucibus mi ultrices et.

थ्रि एन्जल्स नेपालको वार्षिक समिक्षामा जनप्रतिनिधि, विद्यालय र सुरक्षा निकायको एकता

राप्ती नगरपालिका भित्र महिला बेचबिखन तथा महिला हिंसा विरुद्ध साझा प्रतिवद्धतासहित अघि बढ्ने अठोट स्थानीय जनप्रतिनिधिहरुले व्यक्त गरेका छन्। महिला बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले महिलाको सुरक्षा, संरक्षण र सशक्तिकरणका लागि संस्थागत तथा नीतिगत पहललाई थप सशक्त बनाउने प्रतिबद्धता जाहेर गरेका हुन्।

सोमबार राप्ती नगरपालिकामा सम्पन्न उक्त समिक्षा कार्यक्रममा नगरका निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सुरक्षाकर्मी, स्थानीय सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा महिला बेचबिखन तथा हिंसाको वर्तमान अवस्था, जोखिम क्षेत्र, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।

पहाडी क्षेत्रका छोरीहरु उच्च जोखिममा

कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट बोल्दै राप्ती नगरपालिका वडा नं २ का अध्यक्ष एवं नगर प्रवक्ता श्यामसुन्दर उप्रेतीले राप्ती नगरपालिकाको पहाडी भेगमा बसोबास गर्ने छोरीहरु महिला बेचबिखनको उच्च जोखिममा रहेको गम्भीर तथ्य प्रस्तुत गरे। उनले आर्थिक अभाव, शिक्षा र सचेतनाको कमी, वैदेशिक रोजगारीको भ्रम तथा दलालहरुको सक्रियताका कारण ती क्षेत्रका किशोरी तथा युवतीहरु सजिलै शिकार बन्ने अवस्था रहेको बताए।

“महिला बेचबिखन केवल सामाजिक समस्या मात्र होइन, यो गम्भीर मानवअधिकार उल्लंघन हो,” उप्रेतीले भने, “यसलाई रोक्न स्थानीय सरकारले जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।” उनले थ्रि एन्जल्स नेपालले लामो समयदेखि यस्ता जोखिमपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको भन्दै संस्थाप्रति कृतज्ञता व्यक्त गरे।

उनका अनुसार स्थानीय तहले अब महिला हिंसा र बेचबिखन विरुद्ध नीति निर्माण, बजेट विनियोजन र कार्यान्वयनमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने समय आएको छ। जनप्रतिनिधिहरु यस विषयमा मौन बस्न नहुने र समुदायमै पुगेर काम गर्नुपर्नेमा उनले जोड दिए।

विद्यालयस्तरमै जोखिम पहिचान आवश्यक

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको तर्फबाट बोल्दै भोलेबाबा आधारभूत विद्यालयका अध्यक्ष मनिक लामाले सामुदायिक विद्यालयमा अध्ययनरत अत्यन्त न्यून आर्थिक अवस्था भएका परिवारका बालबालिका र किशोरीहरु पनि महिला बेचबिखनको जोखिममा रहेको बताए। उनले विद्यालय नै बालबालिकाको अवस्था बुझ्ने पहिलो थलो भएकाले विद्यालय र समुदायबीचको समन्वय अत्यन्त जरुरी रहेको धारणा राखे।

“अभाव, बेरोजगारी र पारिवारिक समस्या भएका परिवारका छोरीहरु सजिलै प्रलोभनमा पर्न सक्छन्,” लामाले भने, “यस्ता परिवारको पहिचान गरी समयमै सहयोग, परामर्श र सेवा प्रवाह गर्न संस्थाहरुले विशेष ध्यान दिनुपर्छ।” उनले थ्रि एन्जल्स नेपालजस्ता संस्थाले विद्यालयसँग सहकार्य गर्दै बालबालिकाको सुरक्षामा भूमिका खेल्नुपर्ने सुझाव दिए।

बहुपक्षीय सहभागितासहित कार्यक्रम सम्पन्न

थ्रि एन्जल्स नेपालको तर्फबाट जिल्ला इन्चार्ज सुनिता सिलवालले कार्यक्रममा इलाका प्रहरी कार्यालय, स्थानीय सञ्चार माध्यम, सामाजिक संघसंस्था तथा अन्य सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको जानकारी गराइन्। उनका अनुसार महिला बेचबिखन र हिंसा जस्तो जटिल समस्याको समाधान एकल प्रयासले सम्भव नहुने भएकाले बहुपक्षीय सहकार्य अपरिहार्य छ।

“सुरक्षा निकाय, स्थानीय सरकार, विद्यालय, सञ्चार माध्यम र समुदाय सबै मिलेर काम गरे मात्रै महिलामाथि हुने हिंसा र बेचबिखन रोक्न सकिन्छ,” सिलवालले भनिन्। उनले विगत वर्षमा थ्रि एन्जल्स नेपालले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने बताइन्।

सचेतना र सहकार्य नै दीर्घकालीन समाधान

कार्यक्रममा सहभागी वक्ताहरुले महिला बेचबिखन र हिंसा विरुद्ध दीर्घकालीन समाधानका लागि सचेतना, शिक्षा, आर्थिक सशक्तिकरण र कडा कानुनी कार्यान्वयन आवश्यक रहेको निष्कर्ष निकाले। विशेषगरी किशोरी लक्षित जीवनोपयोगी सीप तालिम, अभिभावक सचेतना, विद्यालयस्तरीय कार्यक्रम र समुदायमा निगरानी संयन्त्र गठन गर्नुपर्ने सुझाव दिइएको थियो।

स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुले पनि महिला बेचबिखन र हिंसाका घटनालाई उजागर गर्नुका साथै सचेतनामूलक सामग्री प्रसारणमा आफ्नो भूमिका बढाउने प्रतिबद्धता व्यक्त गरे। प्रहरी प्रतिनिधिहरुले उजुरी प्रणालीलाई सहज बनाउँदै पीडितमैत्री सेवा प्रवाहमा जोड दिने बताएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागी सबैले राप्ती नगरपालिकालाई महिला मैत्री, सुरक्षित र हिंसामुक्त बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्ने सामूहिक प्रतिवद्धता जनाए। थ्रि एन्जल्स नेपालको वार्षिक समिक्षा कार्यक्रम केवल गतिविधिको समीक्षा मात्र नभई महिला अधिकार र सुरक्षाका लागि साझा संकल्पको मञ्च बनेको सहभागीहरुको धारणा थियो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.